अमेरिकी शेयर बजारमा नयाँ कीर्तिमान

एजेन्सी। होर्मुज जलडमरू फेरि खोल्ने विषयमा वार्तामा प्रगति भएको अमेरिकी अधिकारीहरूको भनाइसँगै तेलको मूल्य घटेको छ भने अमेरिकी सेयर बजारमा नयाँ सर्वकालीन कीर्तिमान कायम भएको छ ।

होर्मुज जलडमरू पुनः खोल्ने सम्झौता हुने आशा बढ्नुका साथै ठूला अमेरिकी कम्पनीहरूले अपेक्षाभन्दा राम्रो वित्तीय नतिजा सार्वजनिक गरेपछि बजारमा तीव्र वृद्धि भएको हो । अमेरिकी सेयर बजारको सबैभन्दा लोकप्रिय सूचक एस एन्ड पी ५०० मंगलबार १.८ प्रतिशतले बढेर पहिलोपटक ७,७०० अंकभन्दा माथि पुगेको छ । यससँगै यसले जुन २ मा कायम गरेको यसअघिको ७,६२०.९० अंकको कीर्तिमान तोडेको छ ।

वाल स्ट्रिटको प्रमुख सूचक एस एन्ड पी ५०० यस वर्ष अहिलेसम्म १२.८० प्रतिशतले बढिसकेको छ । यो ऐतिहासिक औसत करिब १०.५ प्रतिशतभन्दा निकै बढी हो ।

अमेरिकी तथा इजरायली रक्षा क्षेत्रसँग निकट सम्बन्ध रहेको डेटा विश्लेषण कम्पनी ‘प्यालान्टिर टेक्नोलोजिज’ का सेयर सबैभन्दा धेरै बढ्ने कम्पनीमध्ये परेका छन् । दोस्रो त्रैमासिकमा कम्पनीले १.९४ अर्ब अमेरिकी डलर आम्दानी गर्ने प्रक्षेपण गरेपछि उसका सेयर २९.५ प्रतिशतले उकालो लागेका छन् । यो बजारको अपेक्षाभन्दा निकै राम्रो हो ।

३० वटा ठूला अमेरिकी कम्पनीको प्रदर्शन मापन गर्ने डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि लगातार दोस्रो दिन नयाँ कीर्तिमानमा पुगेको छ । यो १.७ प्रतिशतले बढेर ५४,०८५.८८ अंकमा पुगेको छ ।

बुधबार बिहान एसियाली बजारमा पनि यो वृद्धि जारी रह्यो । जापान र दक्षिण कोरियाका प्रमुख सेयर सूचकहरू उल्लेख्य रूपमा बढेका छन् । टोकियोको प्रमुख निक्केई २२५ सूचक ३ प्रतिशत सम्मले बढेको थियो भने सियोलको कोस्पी ४।६ प्रतिशतले उकालो लागेको थियो ।

यसैबिच, होर्मुज जलडमरूमध्यमा महिनौँदेखि जारी ढुवानी अवरोध अन्त्य हुने आशाबीच कच्चा तेलको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको प्रमुख मूल्य सूचक ब्रेन्ट क्रुड रातारात करिब ५ प्रतिशतले घटेको थियो ।

फेब्रुअरीको अन्त्यमा इरानमाथि अमेरिका–इजरायल युद्ध सुरु हुनुअघि होर्मुज जलडमरूमध्यबाट विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने गरेको थियो । त्यसैले उक्त जलमार्गमा भएको अवरोधले विश्वव्यापी तेल आपूर्तिमा गम्भीर असर पार्दै आएको छ ।

बुधबार अक्टोबरमा आपूर्ति हुने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९.११ अमेरिकी डलर थियो । यो अघिल्लो साताको तुलनामा करिब १३ प्रतिशत कम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *