भारतीय पत्रकार तरुण तेजपाललाई १० वर्ष कैद सजाय

नयाँ दिल्ली । भारतका वरिष्ठ पत्रकार तथा तहलका पत्रिकाका पूर्वप्रधान सम्पादक तरुण तेजपाललाई यौन उत्पीडन र बलात्कारसम्बन्धी मुद्दामा १० वर्षको कठोर कारावास तथा लाखौँ भारतीय रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ।

बम्बई उच्च अदालतले बिहीबार सजाय निर्धारण गर्दै भारतीय दण्ड संहिताका विभिन्न धाराअन्तर्गत तेजपाललाई दोषी ठहर गरेको हो। यसअघि सन् २०२१ मा गोवाको ट्रायल अदालतले दिएको सफाइको फैसला उच्च अदालतले उल्टाउँदै उनलाई दोषी ठहर गरेको थियो।

सजाय निर्धारणअघि अदालतले बचाउ पक्ष र सरकारी पक्षका वकिलको बहस सुनेको थियो। बचाउ पक्षले यो तेजपालको पहिलो आपराधिक मुद्दा भएको, सन् २०१३ को घटनापछि उनी निरन्तर जमानतमा बसेको तथा न्यूनतम सजाय दिनुपर्ने दाबी गरेको थियो। साथै, सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारीका लागि आठ साताको समय दिई आत्मसमर्पण गर्न अनुमति दिन पनि अदालतसँग अनुरोध गरिएको थियो।

सरकारी पक्षले भने अपराधको प्रकृति गम्भीर भएकाले अधिकतम सजाय हुनुपर्ने माग गरेको थियो। सरकारी वकिलका अनुसार पीडित महिलाले तेजपाललाई विश्वास गर्ने र अभिभावकसरह सम्मान गर्ने अवस्था हुँदाहुँदै पनि उनले पीडितको स्पष्ट अस्वीकारलाई बेवास्ता गर्दै अपराध दोहोर्‍याएका थिए। तेजपालले आफ्नो व्यवहारप्रति कुनै पछुतो नदेखाएको तर्क पनि सरकारी पक्षले अदालतमा प्रस्तुत गरेको थियो।

सजाय सुनाउने क्रममा बम्बई उच्च अदालतले घटना भएको करिब १३ वर्ष बितिसकेको उल्लेख गर्दै त्यस अवधिमा तेजपालविरुद्ध यस्तै प्रकृतिको अर्को गम्भीर आरोप वा उजुरी नपरेको जनाएको छ। अदालतले दुवै पक्षले आफ्नो जीवन अगाडि बढाउनुपर्ने अवस्था रहेको टिप्पणी गरे पनि अपराधको गम्भीरतालाई मध्यनजर गर्दै कानुनबमोजिम सजाय निर्धारण गरिएको स्पष्ट पारेको छ।

अदालतले भारतीय दण्ड संहिताको धारा ३७६ (२)(एफ) अन्तर्गत १० वर्षको कठोर कारावास र पाँच लाख भारतीय रुपैयाँ जरिवाना तथा धारा ३७६ (२)(के) अन्तर्गत पनि १० वर्षको कठोर कारावास र पाँच लाख भारतीय रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। त्यसैगरी, धारा ३५४ अन्तर्गत एक वर्षको कठोर कारावास र १० हजार भारतीय रुपैयाँ जरिवाना, अर्को धारा ३५४ अन्तर्गत एक वर्षको कठोर कारावास तथा धारा ३५४–बी अन्तर्गत तीन वर्षको कठोर कारावासको सजाय तोकिएको छ। यी सजाय एकैसाथ वा छुट्टाछुट्टै कसरी कार्यान्वयन हुने भन्ने विषय सम्बन्धित कानुनी प्रक्रियाअनुसार तय हुने अदालतले जनाएको छ।

यो मुद्दा सन् २०१३ मा सुरु भएको थियो। त्यतिबेला तहलका पत्रिकामा कार्यरत एक कनिष्ठ महिला कर्मचारीले गोवास्थित एक होटलको लिफ्टमा तरुण तेजपालले आफूमाथि यौन उत्पीडन तथा बलात्कार गरेको आरोप लगाएकी थिइन्। घटनापछि यो प्रकरणले भारतभर व्यापक चर्चा पाएको थियो।

तेजपालले सुरुदेखि नै आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्। सन् २०२१ को मे महिनामा गोवाको ट्रायल अदालतले प्रमाण पर्याप्त नभएको भन्दै उनलाई सबै आरोपबाट सफाइ दिएको थियो। तर गोवा सरकारले उक्त फैसला कानुनविपरीत रहेको दाबी गर्दै बम्बई उच्च अदालतमा पुनरावेदन गरेको थियो। लामो सुनुवाइपछि उच्च अदालतले ट्रायल अदालतको फैसला उल्टाउँदै तेजपाललाई दोषी ठहर गरेको हो।

तरुण तेजपालका कानुनी प्रतिनिधिले भने बम्बई उच्च अदालतको फैसलाविरुद्ध भारतको सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी भइरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *