नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इन्जिनियरिङ लिमिटेड बीच लघु जलविद्युत आयोजना निर्माणका लागि वित्तीय सहकार्यसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार चितवन इन्जिनियरिङ लिमिटेडद्वारा प्रवर्द्धित लाङटाङ लघु जलविद्युत आयोजना (४.५ मेगावाट) निर्माण तथा सञ्चालनका लागि नेपाल बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।

सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इन्जिनियरिङ लिमिटेडका सञ्चालक नरेश शाही मिर्चैयाले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले वित्तीय व्यवस्थापनका लागि बैंकसँग सहकार्य गर्ने चितवन इन्जिनियरिङलाई धन्यवाद दिँदै आयोजना समयमै सम्पन्न गर्न शुभकामना व्यक्त गरे।

चितवन इन्जिनियरिङ लिमिटेडका तर्फबाट सञ्चालक मिर्चैयाले आयोजनाका लागि आवश्यक वित्तीय सहयोग उपलब्ध गराएकोमा नेपाल बैंकप्रति आभार व्यक्त गर्दै आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

सम्झौतासँगै नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन र जलविद्युत विकासमा वित्तीय संस्थाको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *