काठमाडौं । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।
यससम्बन्धी सम्झौतापत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावरका अध्यक्ष मित्रबहादुर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा रहेको गुमुखोला भ्याकुरे जलविद्युत आयोजना ‘नदी प्रवाहमा आधारित’ (रन अफ रिभर) प्रविधिमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। आयोजनाको जडित क्षमता ९५० किलोवाट रहेको छ।
कम्पनीका अनुसार आयोजनाबाट वार्षिक करिब ५.६ गिगावाट घण्टा विद्युत उत्पादन भइरहेको छ। उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेशनमा जोडिएको छ।




