काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३/८४ को धितोपत्र वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ।
नेप्सेले जारी गरेको सूचनाअनुसार कम्पनीहरूले आगामी असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन सक्नेछन्। तोकिएको समयभित्र शुल्क नबुझाएमा वार्षिक १० प्रतिशत जरिवाना लाग्ने र धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार सूचीकरण स्थगनसमेत गर्न सकिने नेप्सेले जनाएको छ।
विनियमावलीअनुसार ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भएका कम्पनीले ५० हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी भएका कम्पनीले १ लाख रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नुपर्नेछ।
त्यस्तै, डिबेन्चर र म्युचुअल फन्डतर्फ ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भए २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा बढी भए ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ।




