काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक रहेको छ।
यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै मधेस प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा पनि चट्याङ्गसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशका हिमाली र पहाडी भूभाग, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




