कांग्रेसभित्र आन्तरिक कलह अन्त्यको आह्वान : युवा नेताहरूद्वारा ‘देश र कांग्रेस जोड्ने अभियान’ र ‘राष्ट्रिय संकल्प’ सार्वजनिक

काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक कलह अन्त्य गर्दै पार्टीलाई जनमुखी र वैचारिक रूपमा पुनर्गठित गर्ने उद्देश्यका साथ युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत ‘राष्ट्रिय संकल्प’ सार्वजनिक गरेका छन्।

‘एकता–सद्‌भाव विमर्श: २०८३’ नामक कार्यक्रममा पार्टीका विभिन्न तहका प्रभावशाली नेता तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, युवा नेताहरू पुष्पराज शाही, राजेन्द्र तिवारी, राजनीतिक विश्लेषक अरुण सुवेदी, नेताहरू आनन्द त्रिपाठी, लीलाबल्लभ दाहाल ‘काका’, मनहरि श्रेष्ठ, रजनी, आनन्द सन्तोषी राई र डा. यज्ञप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

विमर्शका क्रममा नेताहरूले कांग्रेसलाई गुटबन्दीको चंगुलबाट मुक्त गरी बीपी कोइरालाको मेलमिलापको नीति र प्रजातान्त्रिक समाजवादको जगमा पुनर्गठित गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। प्रतिवेदनमा बीपी कोइरालाको ‘कांग्रेस एउटै ठुलो परिवार हो’ भन्ने भावनालाई आत्मसात गर्दै परिवारको अर्थ विचारको विविधतामा पनि एउटै विश्वास जीवित रहनु रहेको उल्लेख गरिएको छ। साथै, ‘के यो चौतारी आज पनि सबैका लागि खुला छ? के हाम्रो व्यवहारले बीपीको विश्वासलाई सम्मान गरिरहेको छ?’ भनी गम्भीर प्रश्न समेत उठाइएको छ।

युवा नेताहरूले मुलुकमा बढ्दो भ्रष्टाचार, युवा पलायन, किसानका समस्या र शिक्षित पुस्तामा छाएको निराशाको समाधान गुटबन्दी वा पदको दौडमा नभई एकताबद्ध र जनउत्तरदायी कांग्रेसमा मात्र सम्भव रहेको ठहर गरेका छन्। इतिहास हामीले पढ्ने विषय मात्र नभई इतिहास लेख्ने जिम्मेवारी आफ्नो भएको र अब निराशा होइन सम्भावना तथा नारा होइन अवसर दिनुपर्ने प्रतिवेदनमा औँल्याइएको छ।

कार्यक्रममा कांग्रेस युवानेता नैनसिंह महरले जानकारी गराए अनुसार कांग्रेसलाई फुट्न नदिने, लोकतन्त्रलाई कमजोर हुन नदिने, युवाको आशा र जनताको विश्वास टुट्न नदिने सामूहिक संकल्प गरिएको छ।

त्यसैगरी, व्यक्तिभन्दा विचार, संगठनभन्दा माथि राष्ट्रहितलाई राखिने तथा प्रतिपक्षको भूमिकालाई केवल विरोधमा मात्र सीमित नराखी सरकारलाई प्रश्न गर्ने साहस र राष्ट्रलाई समाधान दिने क्षमताका रूपमा विकास गरिने प्रण गरिएको छ।

उपस्थित नेताहरूले पार्टीभित्र पुस्ता जोड्ने, विवाद होइन विश्वास जोड्ने र कांग्रेस मात्र होइन देश जोड्ने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमको समापन गर्दै नेताहरूले ‘हामी गुट होइन, पुस्ता जोडौँ, एकता नै शक्ति हो, कांग्रेस नै भविष्य हो’ भन्ने सन्देश दिएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *