काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ६२ करोड ९९ लाख रूपैयाँ खुद नाफा गरेको छ । चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले अघिल्लो आवको भन्दा नाफा ४८.४६ प्रतिशतले बढाएको हो ।
बुधबार सार्वजनिक भएको आव २०८२/८३ को चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको हो, जुन अघिल्लो आवको ४२ करोड ४३ लाख १८ हजार रूपैयाँको तुलनामा २० करोड ५६ लाख बढी हो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आव अन्त्यमा बैंकको ईपीएस ९.८८ रुपैयाँ रहेकामा १३.९६ रुपैयाँ पुगेको छ ।
आव २०८२/८३ मा गरेको नाफामध्ये बैंकले सेयरधनीहरूलाई बाँड्न मिल्ने कुल वितरणयोग्य नाफा ४६ करोड ५१ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आवको रिटेन्ड अर्निङसमेत जोड्दा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १०.३१ रुपैयाँ (१०.३१ प्रतिशत लाभांश क्षमता) रहेको देखिन्छ ।
बैंकले आशाजनक लाभांश क्षमतासहितको वित्तीय विवरण प्रकाशन गरेको हो । महालक्ष्मी विकास बैंकले आव २०८२/८३ मा २ अर्ब १४ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा खुद ब्याज आम्दानी १ अर्ब ९४ करोड १२ लाख रूपैयाँ रहेकामा गत आवमा यस्तो आम्दानी २० करोड ७५ लाख रूपैयाँले बढेको हो ।
बैंकको ब्याजदर अन्तर (स्प्रेड दर) पनि ४.४८% बाट घटेर ४.१९ प्रतिशतमा सीमित भए तापनि खुद ब्याज आम्दानी बढेको हो । यसबीचमा खुद फी एन्ड कमिसन इन्कम २० करोड ६५ लाख रुपैयाँबाट बढेर २३ करोड ४ लाख रूपैयाँ पुगेको छ ।
यता असार मसान्तमा सम्भावित नोक्सानीका लागि बैंकले ३१ करोड ५६ लाख ८० हजार रूपैयाँ प्रोभिजन (इम्पेयरमेन्ट चार्ज) गरेको छ । नोक्सानी व्यवस्थाका लागि बैंकले अघिल्लो आव अन्त्यमा ५१ करोड ७३ लाख ७२ हजार रूपैयाँ छुट्याएको थियो ।
यसबीचमा सञ्चालन खर्च केही बढे तापनि बढेको सञ्चालन आयका कारण बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्ष ६१ करोड १४ लाख रुपैयाँ रहेकोमा गत वर्ष ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
महालक्ष्मी विकास बैंकको निष्कृय कर्जा भने केही बढेको छ । अघिल्लो आवको अन्त्यमा कुल निष्कृय कर्जा अनुपात ४.९८ प्रतिशत रहेकामा अहिले ६.३२ प्रतिशत पुगेको छ । तर, खुद निष्क्रिय कर्जा भने १.५२ प्रतिशतमात्र छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १६५.४२ रुपैयाँ हुँदा सीडी रेसियो ८६.८२ प्रतिशत रहेको छ ।




