प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच सिंहदरबारमा पाँच मिनेटको भेट, सुरक्षा अवस्थाबारे चासो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार करिब पाँच मिनेट भएको उक्त भेटमा समसामयिक विषय, विशेषगरी मुलुकको सुरक्षा अवस्थाबारे संक्षिप्त छलफल भएको थियो।सैनिक स्रोतहरूले भने उक्त भेट नियमित कार्यतालिकाअन्तर्गत भएको बताएका छन्।

सुनसरी र मधेश प्रदेशका केही क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनाव र त्यसपछिको सुरक्षा अवस्थाका बीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि साउन १४ गते प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए।

उक्त बैठकमा तराई–मधेश क्षेत्रमा देखिएको तनाव, सम्भावित दंगा नियन्त्रण तथा समग्र सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल भएको थियो।

हाल सुरक्षा निकायले प्रभावित क्षेत्रमा निगरानी बढाउँदै शान्ति–सुरक्षा कायम राख्न आवश्यक समन्वयात्मक कदम अघि बढाइरहेको जनाएको छ। प्रधानमन्त्री र प्रधानसेनापतिबीचको पछिल्लो भेटलाई पनि मुलुकको समसामयिक सुरक्षा अवस्थासँग जोडेर चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *