काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका केही जिल्लाहरूमा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सिर्जित असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी विज्ञप्तिमा नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएको उल्लेख गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचारालाई नेपालको सबैभन्दा ठूलो शक्ति भएको बताइएको छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरे पनि हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि कार्य स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नाडाले यस्ता घटनाले शान्ति सुरक्षा र सामाजिक सद्भावमा मात्र नभई आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पार्ने जनाएको छ । विशेषगरी व्यवसायिक वातावरणमा नकारात्मक असर पर्ने भएकाले सम्पूर्ण व्यवसायी समुदाय यसबाट चिन्तित रहेको विज्ञप्तिमा उल्लेख छ ।
एशोसिएशनले सम्पूर्ण सम्बन्धित पक्षलाई संयमता अपनाई कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ ।
साथै, नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति, सुरक्षा र नागरिकको जनधनको संरक्षण सुनिश्चित गर्दै सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ ।
नाडाले अन्त्यमा सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान तथा सहिष्णुतालाई थप सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेको छ ।




