१७ खर्बभन्दा बढी व्यापार घाटाबीच ३४ देशसँग नेपाल फाइदामा, डेनमार्क शीर्ष स्थानमा

काठमाडौं । नेपालको वैदेशिक व्यापार निरन्तर घाटामा रहे पनि केही देशसँगको व्यापारले भने सकारात्मक संकेत देखाएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्याङ्कअनुसार समीक्षा अवधिमा नेपालले कुल २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ।

सो अवधिमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँको वस्तु आयात हुँदा ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँको मात्र निर्यात भएको छ। यससँगै नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख रुपैयाँ पुगेको छ। कुल व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत र निर्यातको हिस्सा १३.०७ प्रतिशत रहेको छ।

तथ्याङ्कअनुसार नेपालले १६३ देशसँग व्यापार गरेकामा १२९ देशसँग व्यापार घाटा व्यहोरेको छ। यद्यपि ३४ देशसँग भने नेपालको व्यापार सन्तुलन नाफामा रहेको देखिएको छ।

सबैभन्दा बढी व्यापारिक फाइदा नेपालले डेनमार्कसँग गरेको छ। समीक्षा वर्षमा डेनमार्कतर्फ १ अर्ब २ करोड ८ लाख रुपैयाँको वस्तु निर्यात हुँदा त्यहाँबाट २१ करोड ६२ लाख रुपैयाँको मात्र आयात भएको थियो। यसबाट नेपालले ८० करोड ४५ लाख रुपैयाँ बराबरको खुद व्यापार नाफा कमाएको छ।

व्यापार फाइदाका हिसाबले दोस्रो स्थानमा नर्वे रहेको छ। नर्वेसँग ८ करोड ८० लाख रुपैयाँ बराबरको खुद व्यापार नाफा भएको छ। त्यस्तै, अमेरिकन सामोआसँग ४ करोड ४६ लाख रुपैयाँ, रोमानियासँग ४ करोड २२ लाख रुपैयाँ, आइसल्यान्डसँग २ करोड ६० लाख रुपैयाँ तथा सेशेल्ससँग १ करोड ९० लाख रुपैयाँ बराबरको व्यापारिक फाइदा भएको तथ्याङ्कले देखाएको छ।

यस्तै नाइजर, माल्दिभ्स, इराक, न्यु क्यालेडोनिया, ग्रेनाडा र केम्यान टापुसँग पनि नेपालले एक करोड रुपैयाँभन्दा बढीको खुद व्यापार नाफा कमाएको छ। वैदेशिक व्यापार समग्रमा उच्च घाटामा रहे पनि सीमित संख्याका देशसँग निर्यात आयातभन्दा बढी भएकाले ती मुलुकसँग नेपालको व्यापारिक सम्बन्ध अझै पनि फाइदाजनक रहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *