काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म देशभर ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता खुलेका छन् ।
पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता खोल्ने क्रम तीव्र बनेको हो । तर, एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्थाका कारण कुल खाता संख्या वास्तविक लगानीकर्ताको संख्याभन्दा बढी देखिएको छ । यीमध्ये मेरो सेयर खाताका सक्रिय संख्या भने ५१ लाख ४८ हजार ८९४ छ । तसर्थ सोभन्दा माथिको करिब २९ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेका छन् ।
हालसम्म डिम्याट भएका सेयर संख्या १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ रहेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । बजारमा सूचीकृत सेयर संख्या भने १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ रहेको छ ।
यस हिसावले ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता सेयर अझै डिम्याट हुन सकेको छैन । ती सेयर अझै पनि प्रमाणपत्रका रुपमा रहेको हुन सक्ने वा नष्ट भएको हुन सक्छन् ।




