कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सञ्चालन हुने कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ।

नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार यस वर्ष ७ हजार २ सय नेपाली कामदारको माग आएपछि भाषा परीक्षाका लागि आवेदन आह्वान गरिएको हो। प्राप्त कोटाअनुसार उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय तथा वन क्षेत्रमा १ सय जनालाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। इच्छुक उम्मेदवारले २७ जुलाई २०२६ देखि २ अगस्ट २०२६ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दक्षिण कोरियामा गैरकानुनी रूपमा बसोबास नगरेको, नेपाल सरकारले वैदेशिक रोजगारीमा जान रोक नलगाएको तथा कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुनेछ । परीक्षाका लागि २८ डलर शुल्क तिर्नुपर्नेछ । अन्तिम परीक्षामा पास भएका उम्मेद्वारको वैधता नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म हुने जनाइएको छ । कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको सुनिश्चिता नभएको प्रष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *