विज्ञापन बोर्डमा दरखास्त आह्वान

काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष नियुक्तिका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै साउन ८ गतेभित्र आवेदन दिन इच्छुक योग्य नेपाली नागरिकलाई आग्रह गरेको हो।

सूचनाअनुसार अध्यक्ष पदका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम तथा आवेदनसँग संलग्न गर्नुपर्ने कागजातको विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।

विज्ञापन बोर्डले नेपाल सरकारबाट सञ्चार माध्यमलाई उपलब्ध गराइने सार्वजनिक हितसम्बन्धी विज्ञापन तोकिएको मापदण्डका आधारमा समानुपातिक रूपमा वितरण गर्ने व्यवस्था मिलाउने जिम्मेवारी पाएको छ। साथै वस्तु तथा सेवाको प्रवर्द्धन, बिक्री वा प्रचारप्रसारसँग सम्बन्धित विज्ञापन तथा त्यससम्बन्धी व्यवसायको नियमन पनि बोर्डको कार्यक्षेत्रमा पर्छ।

बोर्डले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति निर्माणका लागि मन्त्रालयलाई सिफारिस गर्ने, सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण हुने विज्ञापनको सामग्री परीक्षणसम्बन्धी मापदण्ड तयार गर्ने र विज्ञापन उत्पादन, प्रसारण तथा वितरणसम्बन्धी आचारसंहिता निर्माण गर्ने जिम्मेवारी पनि निर्वाह गर्छ।

त्यसैगरी राष्ट्रिय तथा सार्वजनिक हितका विज्ञापन निर्माण, प्रकाशन र प्रसारणलाई प्रोत्साहन गर्ने, विज्ञापन व्यवसायीको क्षमता विकासका कार्यक्रम सञ्चालनका लागि मन्त्रालयलाई सिफारिस गर्ने, उपभोक्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा विज्ञापन क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने अधिकार पनि बोर्डलाई छ।

विज्ञापन उत्पादक, निर्माता, वितरक तथा प्रसारकलाई आवश्यक निर्देशन दिने कार्यसमेत बोर्डको जिम्मेवारीभित्र पर्ने कानुनी व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *