निष्क्रिय बैंक खाता अब अनलाइन र जुनसुकै शाखाबाटै बन्द गर्न सकिने

काठमाडौँ । लामो समयदेखि सञ्चालनमा नरहेका निष्क्रिय बैंक तथा वित्तीय संस्थाका खाता अब अनलाइन माध्यमबाट वा सोही बैंकको जुनसुकै शाखाबाट बन्द गर्न सकिने भएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ग्राहकले आफ्नो निष्क्रिय खाता सहज रूपमा बन्द गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

यसअघि खाता खुलेको शाखामै पुगेर मात्रै खाता बन्द गर्नुपर्ने व्यवस्था थियो। राष्ट्र बैंकको निर्देशनअनुसार ग्राहकले बैंकको जुनसुकै शाखा कार्यालय वा मोबाइल तथा वेब एपमार्फत खाता बन्द गर्न सक्नेछन्। खाता बन्द गर्दा खातामा रहेको मौज्दात रकम ग्राहकले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गर्नुपर्नेछ।

‘बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू सम्बन्धित संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल/वेब एपमार्फत् समेत ग्राहकले सहज रूपमा बन्द गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘यसरी ग्राहकले उपस्थित भई वा मोबाइल/वेब एपमार्फत खाता बन्द गर्न अनुरोध गरेको खण्डमा उक्त खातामा रहेको मौज्दात निजले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्नेछ ।’

बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेका निष्कृय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाई आउँदो पुससम्म लागू गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।‘बैंक तथा वित्तीय संस्थामा रहेका सक्रिय खाता निष्कृय हुनुपूर्व टेलिफोन, एसएमएस, इमेललगायतका माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले निष्कृय खाता सक्रिय गराउनका लागि कम्तीमा ६ महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरिसक्नुपर्नेछ ।’ बैंक तथा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालयबाट समेत ग्राहक पहिचान गरी सहज रूपमा खाता पुनः सक्रिय गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ ।

यसरी ग्राहकले उपस्थित भई खाता बन्द गर्न अनुरोध गरेको खण्डमा उक्त खातामा रहेको मौज्दात खातावालाले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरिदिन पनि राष्ट्र बैंकले भनेको छ । ‘बैंक तथा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालयबाट समेत ग्राहक पहिचान गरी सहज रूपमा खाता पुनः सक्रिय गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *