काठमाडौं — नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा विस्तार गरिरहेको जनाएको छ। बैंकका अनुसार कृषि, ऊर्जा, लघु तथा मझौला उद्यम (एसएमई) र पर्यटनजस्ता वास्तविक अर्थतन्त्रसँग जोडिएका क्षेत्रमा लगानी बढाउँदै दिगो आर्थिक विकासमा योगदान पुर्याउने रणनीति अवलम्बन गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म बैंकले कुल ४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसमध्ये कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्यममा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ लगानी रहेको बैंकले जनाएको छ।
यी चार क्षेत्रमा मात्रै बैंकको कुल लगानी १ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। बैंकका अनुसार यसले उत्पादन, रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
सन् १९८४ मा स्थापना भएको नबिल बैंकले प्रारम्भिक समयमा १३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। चार दशकपछि बैंकको कर्जा पोर्टफोलियो ४ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ। बैंकले यो वृद्धि उत्पादनशील क्षेत्रप्रतिको निरन्तर लगानी र ग्राहकको विश्वासको परिणाम भएको जनाएको छ।
हाल बैंकले देशभर २६४ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। डिजिटल बैंकिङ सेवा विस्तारसँगै कर्जा तथा अन्य वित्तीय सेवा ग्राहकसम्म सहज रूपमा पुर्याइएको बैंकको दाबी छ।
नबिल बैंकले हालसम्म आठ पटक ‘उत्कृष्ट करदाता’ र १० पटक ‘नेपालको उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्ड प्राप्त गरिसकेको जनाएको छ। आगामी दिनमा पनि जिम्मेवार बैंकिङमार्फत उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै वित्तीय समावेशिता र दिगो आर्थिक विकासमा योगदान दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।




