कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ।
सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाको उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिए।
उनका अनुसार प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि विद्युत् प्रवाह सुरु गरिएको हो।
आयोजना प्रारम्भिक १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादन गरिएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनुका साथै आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिनेछ। त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु गर्ने तयारी छ।
२०७८ मंसिरमा निर्माण सुरु भएको आयोजनाले गत मंसिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो। तर प्रसारण लाइनका लागि वन क्षेत्रमा पर्ने तीनवटा टावर निर्माणको स्वीकृति प्रक्रिया ढिलाइ हुँदा आयोजना सञ्चालन पनि पछि धकेलिएको कम्पनीले जनाएको छ।
आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट ३ हजार १०६ मिटर लामो सुरुङमार्फत पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्याइन्छ। विद्युत्गृहमा ११–११ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएको छ।
करिब पाँच अर्ब पाँच करोड रुपैयाँ लगानी रहेको आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ।
सेती नदीमा पछिल्ला वर्षहरूमा जलविद्युत् आयोजनामा लगानी बढ्दो छ। गत वर्षदेखि २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना व्यावसायिक सञ्चालनमा आइसकेको छ भने अन्य आधा दर्जन आयोजना निर्माण तथा प्रारम्भिक तयारीको चरणमा रहेका छन्।




