टोयोटा वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटद्धारा विपद् राहत कोषमा ३ करोड सहयोग

काठमाडौं । नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस)ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।

टोयोटा मोटर एसिया (टीएमए) र टोयोटा सुशो एसिया प्यासिफिक (टीटीएपी) को सहयोगमा यूटीएसले उक्त रकम कोषमा जम्मा गरेको हो।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सरकारको प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको यूटीएसले जनाएको छ। सहयोग रकम औपचारिक रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

गत अगस्ट २६ मा आएको विनाशकारी बाढी तथा त्यसपछि उत्पन्न प्राकृतिक विपद्बाट देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका काम भइरहेका छन्।

यूटीएसले विपद्को कठिन समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै सहयोगलाई सामाजिक उत्तरदायित्वको हिस्सा भएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *