बाँके ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।
आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी र लाभान्वित किसानसँगको छलफलमा उनले आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
मन्त्री श्रेष्ठले निर्माणका क्रममा देखिएका कानुनी तथा प्रशासनिक अवरोध हटाएर बहुवर्षीय ठेक्का र सहमतिसम्बन्धी प्रक्रियालाई थप सहज बनाइने बताए।
आयोजना समयमै सम्पन्न गर्न आवश्यक ऐन–कानुन संशोधन तथा प्रशासनिक सहजीकरणका लागि पहल गर्ने उनको भनाइ थियो।
उनले नहर क्षेत्रको अतिक्रमण, प्रदूषण र अव्यवस्थित सहरीकरणका कारण सिँचित क्षेत्र खुम्चिँदै गएको उल्लेख गर्दै नहर संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए।
सिँचाइ पूर्वाधारसँगै कृषि उत्पादनको बजारीकरण, गुणस्तरीय बीउ र मलको उपलब्धता तथा कृषि मूल्य शृङ्खला विकासमा पनि सरकारले आवश्यक समन्वय गर्ने उनले बताए।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले स्थानीय किसानसँग रोपाइँको अवस्था, सिँचाइ व्यवस्थापन र उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिएका थिए।
राप्ती सोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी सञ्चालनमा रहेको सिक्टा सिँचाइ आयोजना नेपाल सरकारकै स्रोतबाट आर्थिक वर्ष २०६१/६२ मा सुरु भएको हो।
आयोजनाले बाँकेका आठ स्थानीय तहका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।
यसमध्ये पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब ९ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने योजना छ।
आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत यस आयोजनाको अनुमानित लागत ५२ अर्ब ८९ करोड रुपैयाँ छ। आर्थिक वर्ष २०८९/९० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको हाल दोस्रो चरणको निर्माण कार्य भइरहेको छ।
आयोजनाका अनुसार हालसम्म ५०.५० प्रतिशत भौतिक र ४५.५३ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। करिब २४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ।
हालसम्म अगैयामा ३१७ मिटर लामो ब्यारेज, डिसिल्टिङ बेसिन र फ्लसिङ च्यानल निर्माण सम्पन्न भएको छ।
पश्चिमतर्फ ४५.२५ किलोमिटर र पूर्वतर्फ ५३.५ किलोमिटरमध्ये ३७.६७५ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ।
त्यस्तै ७७.५९ किलोमिटर शाखा तथा उपशाखा नहर, करिब ३० किलोमिटर तटबन्ध निर्माण, १८७ हेक्टर जमिन अधिग्रहण तथा किसान व्यवस्थापनमा रहेका सिँचाइ प्रणालीको आधुनिकीकरण गरिएको छ।
कचनापुर, बालापुर र ढकेरीमा लिफ्ट सिँचाइ प्रणालीमार्फत करिब १५० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिएको आयोजनाले जनाएको छ।






