काठमाडौं ।सरकारले चालु आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने अधिकांश रकम चिनी उद्योगहरूले भुक्तानी गरिसकेको जनाएको छ।
सरकारका अनुसार १३ वटा चिनी उद्योगबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम भुक्तानी भइसकेको छ।
वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विगतमा उखु किसानले भुक्तानीका लागि ६ देखि ८ महिनासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहे पनि यस वर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने व्यवस्था गरिएको बताए।
उनका अनुसार सरकारले उपलब्ध गराउने प्रतिक्विन्टल ७० रुपैयाँका दरले करिब एक अर्ब ५२ करोड रुपैयाँ अनुदान सम्बन्धित निकायमा निकासा भइसकेको छ। उक्त रकम असार २५ भित्र किसानको बैंक खातामा जम्मा गर्ने प्रक्रिया अघि बढाइएको छ।
बैंक खाता वा प्यानसम्बन्धी प्राविधिक विवरण नमिल्दा रोकिएका केही किसानको बाँकी भुक्तानी पनि शीघ्र उपलब्ध गराइने सरकारको दाबी छ।
सरकारले सार्वजनिक गरेको १०० दिनको उपलब्धि विवरणअनुसार कृषि बजार सूचना प्रणाली सञ्चालन तथा चिस्यान केन्द्र स्थापना गर्न बजेट व्यवस्था गरिएको छ। साथै कृषकलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण र माटो परीक्षण कार्यक्रमलाई पनि अघि बढाइएको छ।
कृषि क्षेत्रमा लगानी आकर्षित गर्न तीन करोड रुपैयाँसम्मको कृषि कर्जामा लाग्ने जोखिम भार ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको सरकारको भनाइ छ।
किसानको विवरण विद्युतीय प्रणालीमा आबद्ध गर्ने अभियानअन्तर्गत देशभरका २५ लाख ५८ हजार १९८ किसानमध्ये हालसम्म सात लाख ५० हजार किसानको विवरण प्रमाणीकरण गरिएको छ।
यस्तै, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावित परिवारलाई राहत वितरण गर्नुका साथै समस्या समाधानका उपायबारे अध्ययन गर्न समिति सक्रिय रूपमा काम गरिरहेको सरकारले जनाएको छ।




