इलाममा बन्द भएका ५३ चिया उद्योग खोल्न सहमति

इलाम । भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड (एसओपी) का कारण निर्यात प्रभावित भएपछि बन्द भएका सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योग पुनः सञ्चालन हुने भएका छन्। स्थानीय तह, उद्योगी र सरोकारवालाबीच भएको तीन बुँदे सहमतिपछि उद्योग सञ्चालनको बाटो खुलेको हो।

सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच भएको छलफलबाट उद्योग सञ्चालन गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ।

सहमतिअनुसार चिया निर्यात सहज नहुँदासम्म उद्योगका गोदाममा थन्किएको करिब १० लाख किलोग्राम चिया भण्डारणका लागि नगरपालिकाले व्यवस्थित भण्डार कक्षको व्यवस्था गर्नेछ।

यस्तै, बजार अवस्था सहज नभएसम्म किसानलाई दिनुपर्ने भुक्तानी उद्योगले केही समयका लागि स्थगित गर्ने र चियाको गुणस्तर सुधारका लागि विषादी पूर्ण रूपमा प्रतिबन्ध गर्दै नगरपालिका, उद्योगी तथा किसानको सहभागितामा सबै वडामा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

भारतले मे १ देखि लागू गरेको नयाँ नियमअनुसार चिया बोकेको प्रत्येक सवारीसाधनको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ।

परीक्षण प्रतिवेदन आउन करिब १५ दिन लाग्ने र प्रतिगाडी भारतीय रुपैयाँ ११ हजार ५०० शुल्क तिर्नुपर्ने प्रावधानका कारण नेपाली चिया निर्यात प्रभावित भएको उद्योगीहरूको भनाइ छ।

नेपालमा वार्षिक करिब १५ हजार ६ सय मेट्रिक टन चिया उत्पादन हुने गरेको छ। उत्पादित चियामध्ये करिब ८६ प्रतिशत भारत निर्यात हुने गरेको तथ्यांक छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *