काठमाडौं । पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर प्रक्रिया अघि बढाएको छ।
अख्तियारको टोली मुद्दाको फाइलसहित विशेष अदालत पुगेको छ भने अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मुद्दा दर्ता हुने प्रक्रिया जारी रहेको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानीले जानकारी दिएकी छन्।
अख्तियारले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ वटा कम्पनीलाई प्रतिवादी बनाएको छ। तीमध्ये १० जना सरकारी कर्मचारी रहेको जनाइएको छ।
सूचना अधिकारीका अनुसार, कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको छ। साथै, दुई कम्पनीका चार विदेशी नागरिक र ती कम्पनीका नेपाली प्रतिनिधिहरू पनि प्रतिवादी सूचीमा छन्।
Artha Sanjal






