मतगणना ढिलाईका कारण र कहिल्यै पाठ नसिक्ने निर्वाचन आयोग

एउटै मतपत्र गन्न दुईदेखि २० मिनेटसम्म

स्थानीय तह निर्वाचनको मतगणना अपेक्षा गरिएभन्दा निकै सुस्त गतिमा अघि बढ्नुले ’आशङ्का जन्माउने’ निर्वाचन आयोगका भूतपूर्व प्रमुख निर्वाचन आयुक्तहरूले बताएका छन् । विसं २०७४ सालमा भएको यसअघिको स्थानीय तह निर्वाचनमा पनि मतगणनामा लामो समय लागेको थियो ।

आयोगसँग लामो समयको मतगणना अनुभव रहेकाले यसपालि प्रक्रिया केही सहज हुने अपेक्षा गरिएको थियो । तर आयोगले मतगणना सम्पन्न गर्ने घोषणा गरेको जेठ ५ गते जतिजति नजिकिँदै जाँदैछ, त्यति नै उक्त दाबी यथार्थपरक देखिन छाडेको छ । करिब तीन लाख मतदाता रहेको काठमाडौँमा विगतमाभन्दा कम मत खसेको यसअघि निर्वाचन अधिकारीहरूले बताएका थिए ।

काठमाडौँमा शनिवार मतगणना सुरु गरिएको भए पनि हालसम्म उल्लेख्य सङ्ख्यामा मतगणना हुन नसकेको विवरणहरू सार्वजनिक भएका छन् । एउटै मतपत्र गन्न दुईदेखि २० मिनेटसम्म लागिरहेकाले समस्या उत्पन्न भएको काठमाडौँ महानगरका मतदान अधिकारीले बीबीसीलाई बताएका थिए । काठमाडौँबाहेक देशका अन्य स्थानमा पनि मतगणनाको गति सन्तोषजनक नरहेको बताइएको छ ।

मतपत्र 

यसपालिको निर्वाचनमा नतिजा सार्वजनिक गर्न गाह्रो हुनुको प्रमुख कारण मतपत्र नै रहेको जानकारहरू बताउँछन् । एउटै मतपत्रमा सबै पदका आकाङ्क्षीलाई समेटिँदा मतदान गर्दा निर्वाचन चिन्ह भेट्टाउन र मतगणना गर्नसम्म गाह्रो भएको पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल बताउँछन् । छुट्टाछुट्टै पदको गणना विभिन्न टोली बनाएर गर्न पाएको भए सहज हुने थियो,’’ उनले भने ।

त्यस्तै धेरै उम्मेदवार भएकाले सबैका प्रतिनिधिले मतपत्र हेर्न खोज्ने हुँदा गणना प्रक्रिया झन् ढिला हुन गएको आयोगको भनाइ छ । यो कुरालाई पहिलेबाटै बुझेर आयोगले बढीभन्दा बढी ठाउँबाट गणना गर्ने व्यवस्था गर्नुपर्ने थियो, पोखरेलले भने । अर्का पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती मतदाता र उम्मेदवार थपिए पनि मतपत्र विगतकै जस्तो प्रयोगमा ल्याइएकाले समस्या परेको बताउँछन् । मतदाता थपिए पनि नयाँ प्रक्रियाबारे नसोचिएका कारण यसपालि समस्या दोहोरिएको उनको बुझाइ छ ।

विगतले नसिकाएको पाठ

जानकारहरूका अनुसार नेपालजस्ता देशहरूमा निर्वाचन सम्पन्न गर्नु जत्तिकै चुनौती मतगणनामा हुन्छ । पोखरेल पनि निर्वाचन गराउनभन्दा मतगणना गरेर परिणाम सार्वजनिक गर्न गाह्रो भएको आफ्नो अनुभव सुनाउँछन् । मतगणना मलाई चुनाव सम्पन्न गराउनभन्दा जटिल भएको थियो। कति ठाउँमा कर्फ्यु लगाउनु प¥यो, कति ठाउँमा गोली चलाउनुपर्ने अवस्था बनेको थियो, पोखरेलले भने । र जति छिटो परिणाम दिन सक्यो त्यति नै सहजता निर्माण गर्छ ।

विद्युतीय मतदानप्रति उदासीनता

पछिल्ला केही वर्षयता निर्वाचन नजिकिँदै जाँदा नेपालमा विद्युतीय मतदान यन्त्रको प्रयोगबारे विमर्श हुने गरेको छ । उपनिर्वाचन लगायतमा यसको प्रयोग नभएको पनि होइन, तर आम रूपमा भने यसको प्रयोग हालसम्म हुन सकेको छैन । नेपालको निर्वाचन निकै महँगो हुँदै गएको बताउँदै केही विज्ञले उक्त यन्त्रको प्रयोगले समय र लागत दुवै घटाउन सक्ने बताउँदै आएका छन् । एउटा सरकारी समितिले यो चुनावमा “केही स्थानीय तह छनोट गरी” विद्युतीय मतदान गराउन सिफारिस गरेको थियो तर त्यो सुझाव कार्यान्वयनमा आउन सकेन ।
निर्वाचन आयोगका अधिकारीहरूका भनाइमा यसपालि चुनावको तयारीका लागि ९० दिनभन्दा कम समय भएकोले पनि विद्युतीय मतदान सम्भव नभएको हो । विद्युतीय मतदान प्रणाली प्रयोग गर्नका लागि नेपालमा अझै पनि प्रमाणीकरणको चुनौती देखिएको अधिकारीहरू र पूर्व प्रमुख आयुक्तहरू बताउँछन् । तर त्यस्तो भन्दैमा तयारी नै अघि नबढाउँदा भने भविष्यमा पनि यसको प्रयोग सम्भव नहुने उनीहरूको तर्क छ ।

केन्द्रीकृत निर्वाचन प्रणाली

समयमै मतगणना हुन नसक्नुको अर्को प्रमुख कारण केन्द्रीकृत निर्वाचन व्यवस्थापन प्रणाली पनि रहेको जानकारहरू बताउँछन् ।

कुल ७५३ स्थानीय तहमा निर्वाचनका लागि यसपालि पनि मतपत्र काठमाण्डू उपत्यकामा छापिएको थियो ।

आयोगले भने मतगणनाको गति बढाउनका लागि खटाइने अधिकारीहरूको सङ्ख्या बढाउने निर्णय गरेको र आवश्यक निर्देशन दिइसकिएको जनाएको छ ।

समाधानको उपाय

मतगणनामा संलग्न टोली बढेसँगै गणनाले गति लिने भए पनि राजनीतिक दल, उम्मेदवार र दलका प्रतिनिधिको सहयोग आवश्यक रहने सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

“यसरी जान सक्यो भने जेठ ५ सम्ममा गणना भइरहेको करिब ८५ प्रतिशत स्थानीय तहका परिणामहरू आउँछन्। र केही ठाउँमा हामीले सङ्ख्या बढाएर मत परिणाम निकाल्ने योजना बनाएका छौँ,’’ उनले दाबी गरे ।

मतगणनाको समयमा ’सानातिना कुरामा बदर गराउनतिर नलागेर’ यदि मतको आशय प्रकट हुने गरी चिन्हमा छाप परेको छ भने त्यसलाई गणना गर्दै अघि बढ्दा प्रक्रिया छिटो अघि बढ्ने निर्वाचन आयोगको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *