चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आइतबार बिहान ८ः३० बजेदेखि सुरु हुने भएको छ।
चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम सञ्चालन गरिनेछन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रमा अनुशासन आयोग, आर्थिक, संगठनात्मक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरी छलफल र अनुमोदन गरिने कार्यसूची छ।
सहमहामन्त्रीले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् भने त्यसमाथि पनि छलफल हुनेछ।
पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने तथा अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि आयोजक समितिले महाधिवेशनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ।
दिउँसो निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार दिउँसो १ बजेदेखि उम्मेदवारी फाराम वितरण गरिनेछ भने २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। उम्मेदवारको प्रारम्भिक नामावली साँझ ६ बजे प्रकाशन गरिनेछ।
दावी–विरोध र जाँचबुझ प्रक्रिया सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली राति ११ बजे सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।
महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक सहभागी छन्। असार ९ गते बिहान ८ः३० बजेदेखि सभापति र ९९ केन्द्रीय सदस्यका लागि मतदान हुनेछ।
मतगणनापछि परिणाम घोषणा गरी दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको छ।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र शनिबार चितवनको गेष्टहाउस चौरमा सम्पन्न भएको थियो।






