काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध प्रभावशाली प्रदर्शन गरेको छ । पहिलो खेलमा बराबरी खेलेर अंक बाँडेको स्पेन आज पहिलो जितको लक्ष्यसहित आक्रामक रूपमा मैदान उत्रिएको हो ।
खेलको ३८ मिनेटसम्म स्पेनले ३–० को सहज अग्रता बनाएको छ । सुरुदेखि नै बल नियन्त्रण र आक्रमणमा हावी बनेको स्पेनले साउदी अरेबियाको रक्षापंक्तिमाथि निरन्तर दबाब सिर्जना गरेको थियो ।
स्पेनका युवा स्टार लामिन यामालले खेलको १०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि अग्रपंक्तिका खेलाडी मिकेल ओयार्जाबाल चम्किए । उनले २१औँ र २४औँ मिनेटमा लगातार दुई गोल गर्दै स्पेनको अग्रतालाई ३–० मा पुर्याए ।
ओयार्जाबालको तीव्र आक्रमण र स्पेनको उत्कृष्ट सामूहिक खेलका कारण साउदी अरेबियाको रक्षापंक्ति दबाबमा परेको छ । पहिलो हाफ सकिनुअघि नै तीन गोलको अग्रता बनाएको स्पेन जिततर्फ मजबुत रूपमा अघि बढिरहेको छ ।






