नेपाल आफैंमा प्राकतिक अस्पताल हो, त्यसैले आरोग्य गन्तव्य हो : सूर्य थपलिया

काठमाडौं ।सरकारले नेपाललाई आरोग्य (वेलनेस) पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने रणनीति अघि बढाएको छ।

पछिल्लो नीति तथा कार्यक्रममा आरोग्य पर्यटनलाई प्राथमिकता दिइएपछि यसको प्रवर्द्धन र संस्थागत विकासका लागि १० वर्षे रणनीतिक योजना कार्यान्वयनको तयारी गरिएको छ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया का अनुसार आरोग्य पर्यटन योग, ध्यान वा स्पा सेवामा मात्र सीमित नभई नेपाली जीवनशैली, संस्कृति, प्रकृति र आध्यात्मिक परम्परासँग जोडिएको व्यापक अवधारणा हो।

उनका अनुसार नेपाल आफैंमा प्राकृतिक उपचार र मानसिक शान्तिको गन्तव्य भएकाले यसलाई विश्व बजारमा नयाँ पर्यटन ब्रान्डका रूपमा स्थापित गर्न सकिने आधार बलियो छ।

पर्यटन बोर्डले हाल सञ्चालनमा रहेका योग, ध्यान तथा वेलनेस केन्द्रहरूको स्तरीकरण गर्दै गुणस्तरीय सेवा प्रवर्द्धन गर्ने योजना बनाएको छ।

सरकार र निजी क्षेत्रको सहकार्यमा आरोग्य पर्यटनलाई व्यवस्थित रूपमा विकास गरी उच्च खर्च गर्ने विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ।

थपलियाका अनुसार नेपाल आउने धेरै पर्यटक प्रकृति, ट्रेकिङ, ध्यान तथा आध्यात्मिक अनुभवका लागि आउने भएकाले उनीहरूलाई आरोग्य पर्यटककै रूपमा लिन सकिन्छ।

लुम्बिनी, जनकपुर, हिमाली क्षेत्र, ग्रामीण बस्ती तथा होमस्टेहरूलाई योग, ध्यान र प्राकृतिक जीवनशैलीसँग जोडेर अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने सम्भावना रहेको उनको भनाइ छ।

सुदूरपश्चिम, कर्णाली, दार्चुलादेखि पूर्वका हिमाली क्षेत्रसम्मका गन्तव्यलाई वेलनेस केन्द्रका रूपमा विकास गर्न सकिने बताउँदै उनले प्राकृतिक वातावरण, जैविक खाद्य संस्कृति र जडीबुटीको प्रयोगले नेपाललाई विशिष्ट आरोग्य गन्तव्य बनाउन सहयोग पुग्ने उल्लेख गरे।

नेपाल पर्यटन बोर्डले आगामी वर्षहरूमा विदेशी बजारमा नेपाललाई ‘वेलनेस डेस्टिनेसन’ का रूपमा प्रवर्द्धन गर्ने तयारी गरेको छ।

सरकारको लक्ष्य आगामी दशकभित्र नेपाललाई विश्वस्तरीय आरोग्य पर्यटन केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *