काठमाडाैं । राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन म्याद टाँस भएसँगै कांग्रेस नेतृ आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इमेल पठाएकी छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेकी देउवाले अख्तियारको ठेगानामा इमेल गर्दै भनेकी छन्, ‘म विदेशमा छु, ३ दिनभित्र आउन सक्दिनँ ।’
आरजुले आउन नसक्ने भन्दै इमेल गरेको अख्तियारका अधिकृतले पुष्टि गरेका छन् । आरजुले इमेलमा आफू कुन मुलुकमा रहेको भन्ने विवरण भने खुलाएकी छैनन् । अख्तियारले असार २ मा देउवाको घरमा म्याद टाँस गरेको थियो । घरमा तामेल गरिएको म्याद पत्र अनुसार उनलाई ३ दिनभित्र आयोगको मुख्यालय टंगालस्थित कोठा नम्बर १२ मा उपस्थित हुन भनिएको थियो । आयोगको पत्रमा भनिएको छ, ‘उपस्थित हुन नआए कानुन बमोजिम हुने छ ।’ आरजु हाल हङकङमा रहेको बताइन्छ ।
आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा जर्मन कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।
राहदानी खरिदमा आरजु समेतको मिलेमतोमा करिब ८ अर्ब रुपैयाँ अनियमितता भएको आयोगको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।






