हर्क साम्पाङले सदनमा भने – सुकुम्वासीलाई पुरानै स्थानमा योजनाबद्ध पुनर्वास गराइयोस्

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले विस्थापित सुकुम्वासीलाई उनीहरू बसोबास गर्दै आएको स्थानमै व्यवस्थित सहरी योजना बनाएर पुनर्वास गर्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सुकुम्वासीको वर्तमान अवस्था दयनीय बनेको उल्लेख गर्दै उनीहरूलाई जबर्जस्ती विस्थापित गर्नु समाधान नभएको बताए। बरु पुरानै स्थानमा आधुनिक र व्यवस्थित सहरी योजना लागू गरी पुनर्वास गराउन सके सरकारकै प्रशंसा हुने उनको भनाइ थियो।

“सुकुम्वासीहरू पहिले जहाँ हुनुहुन्थ्यो त्यहीँ राम्रो सहरी योजना बनाएर पुनर्वास गराउँदा सरकारकै वाहवाही हुने थियो,” साम्पाङले संसदमा भने।

उनले कीर्तिपुरस्थित राधास्वामी सत्संगमा राखिएका सुकुम्वासीहरूको अवस्था चिन्ताजनक रहेको पनि बताए। त्यहाँ खाना, खानेपानी र स्वास्थ्य उपचारको अभाव रहेको उल्लेख गर्दै उनले तत्काल राहत तथा व्यवस्थापनका काम अघि बढाउन सरकारलाई आग्रह गरे।

“होल्डिङ सेन्टरमा सुकुम्वासीको बेहाल अवस्था छ। खाना र पानीको अभाव छ। अभावका कारण आन्दोलन गर्न बाध्य भएको दृश्य देखिरहेका छौँ,” उनले भने, “राहत दिनुपर्ने ठाउँमा राहत दिनुपर्छ, व्यवस्थापन र पुनर्वासमा ढिलाइ गर्नु हुँदैन।”

सत्संगमा राखिएका सुकुम्वासीहरूले पर्याप्त खाना, औषधि तथा आधारभूत सेवा नपाएको गुनासो गरिरहेका छन्। उनीहरूले एक साताभित्र उचित व्यवस्थापन नभए पुनः पुरानै स्थानमा फर्केर बस्ने चेतावनीसमेत दिएका छन्।

सरकारले उनीहरूको दीर्घकालीन व्यवस्थापनमा स्पष्ट योजना प्रस्तुत गर्न नसकेको आरोप लागिरहेका बेला काठमाडौँ महानगरपालिकाले अस्थायी व्यवस्थापनको जिम्मेवारी लिएको छ। तर स्रोत अभावका कारण महानगरले विभिन्न संस्था र दातासँग सहयोगको अपिल गरिरहेको अवस्था रहेको छ।

सुकुम्वासी व्यवस्थापनको विषय अहिले संसददेखि सडकसम्म बहसको विषय बनेको छ भने प्रभावित परिवारहरूले तत्काल राहत र स्थायी पुनर्वासको माग गरिरहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *