राष्ट्र बैंकमा तेस्रो डेपुटी गभर्नर थप्न प्रस्ताव, बाहिरबाट ल्याउने तयारी

काठमाडौं। प्रतिनिधिसभामा विचाराधीन नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि सांसदहरूले तेस्रो डेपुटी गभर्नरको व्यवस्था गर्न प्रस्ताव गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संयुक्त रूपमा दर्ता गराएको संशोधनमा हाल रहेको दुई डेपुटी गभर्नरको संख्या बढाएर तीन पुर्‍याउन सुझाव दिइएको हो।

संशोधन प्रस्तावअनुसार थप गरिने एक डेपुटी गभर्नर राष्ट्र बैंकको सेवाभित्रबाट नभई बाह्य क्षेत्रबाट नियुक्त गर्नुपर्ने व्यवस्था राखिएको छ। रास्वपाका सांसद सुशील खड्का, नेकपाका सांसद रमेश मल्ल र राप्रपाकी सांसद खुश्बु ओलीले यस्तो संशोधन दर्ता गराएका हुन्।

हालको नेपाल राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले राष्ट्र बैंकका विशिष्ट श्रेणीका अधिकृतमध्येबाट कार्यक्षमताका आधारमा दुई डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ।

डेपुटी गभर्नरको कार्यकाल पाँच वर्ष रहने प्रावधान छ। यस व्यवस्थाअनुसार राष्ट्र बैंकभित्र लामो समय काम गरी अनुभव हासिल गरेका कर्मचारी मात्र डेपुटी गभर्नर बन्न सक्नेछन् ।

सांसदहरूले भने केन्द्रीय बैंकको नेतृत्व तहमा बाह्य क्षेत्रको अनुभव र विशेषज्ञता भित्र्याउन तेस्रो डेपुटी गभर्नर बाहिरबाट नियुक्त गर्नुपर्ने तर्क अघि सारेका छन्।
सरकारले संसद्मा दर्ता गरेको विधेयकमा भने यस्तो व्यवस्था प्रस्ताव गरिएको छैन।

रास्वपा सांसद खड्काले दर्ता गरेको संशोधनमा डेपुटी गभर्नरको संख्या दुईबाट तीन पुर्‍याउने र थप गरिने एक पद राष्ट्र बैंक सेवाबाहिरबाट पूर्ति गर्ने उल्लेख छ। राप्रपाकी सांसद ओलीले पनि सोही प्रकृतिको प्रस्ताव राखेकी छन्।

उनको प्रस्तावअनुसार तेस्रो डेपुटी गभर्नरका लागि विश्वविद्यालयका प्राध्यापक, ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, अन्तर्राष्ट्रिय संस्थाका कार्यकारी तहका पदाधिकारी वा सो सरह अथवा सोभन्दा उच्च तहमा काम गरेको व्यक्तिलाई योग्य मानिने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

सांसदहरूले राष्ट्र बैंकको सञ्चालक समिति तथा नेतृत्व संरचनामा समावेशितालाई सुनिश्चित गर्न महिला प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने संशोधन पनि प्रस्ताव गरेका छन्। नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि हालसम्म १८ जना सांसदले विभिन्न संशोधन प्रस्ताव दर्ता गराएका छन्।

हाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरमध्ये एक पद अझैसम्म रिक्त रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *