पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आजको समाजमा ‘पपुलिजम’ र ‘एनार्किजम’ को प्रभाव बढिरहेको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक विकास र भविष्यमुखी यात्रालाई सहयोग नगर्ने बताएका छन् ।

नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पपुलिजम र एनार्किजम दुवैले समाजलाई तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र यथास्थितिमा राख्ने प्रयास गर्ने टिप्पणी गरे ।

उनले भने,‘आजको हाम्रो समाजमा जे कुराको हावा चलिरहेको छ, त्यो कुराले पनि हामी प्रभावित भइरहेका छौँ । हाम्रो समाजमा दुईवटा चिजहरूको जबर्जस्त प्रभाव छ पपुलिजम र एनार्किजम । यी दुवै चिजले विचारधारालाई र भविष्यमुखी यात्रालाई सहयोग गर्दैनन्, बरु त्यसलाई निषेध गर्छन् ।’

पोखरेलले पपुलिजम र एनार्किजमले तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र समाजलाई यथास्थितिमै राख्ने प्रवृत्ति देखाउने दाबी गरे ।

उनले भने, ‘पपुलिजम र एनार्किजमले तत्कालका मुद्दाहरूमा आफूलाई केन्द्रित गर्छन् र समाजलाई यथास्थितिमै राख्ने मान्यताको पैरवी गर्छन्। यी यथास्थितिका पोषक हुन् । तर उनीहरूले समाजलाई यति भ्रमित बनाउँछन् कि सबै समस्याको समाधान यिनै हुन् भन्ने जस्तो इम्प्रेशन दिन्छन् ।’

उनले वर्तमान राजनीतिक बहसमा पुरानाले गर्न सक्दैनन्, नयाँलाई मौका दिनुपर्छ भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै त्यसप्रति टिप्पणी गरे ।

पोखरेलले वैकल्पिक राजनीति प्रविधिको जगमा मात्र टिक्न नसक्ने बताउँदै विचारधारात्मक आधार आवश्यक रहेको पनि उल्लेख गरे।

उनले भने, ‘वैकल्पिक राजनीति प्रविधिको जगमा निर्माण भयो। तर यो दीर्घकालसम्म टिक्न सक्छ कि सक्दैन भन्ने प्रश्न छ । त्यसैले अब समाज फेरि विचारधारातर्फ फर्किनुपर्छ र फर्काउनुपर्छ । समय लाग्ला, तर समाज हिँड्ने बाटो त्यही हो ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *