दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे सभामुखले रुलिङ गर्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने आफ्नो दलको माग जायज रहेको बताए ।

‘प्रधानमन्त्रीज्यूले दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहित विपरीत छ । यो रेकर्डबाट हटाउनुपर्छ र सभामुखले यसका लागि रुलिङ गर्नुपर्छ । सदनमा आएर प्रधानमन्त्रीले आफ्नो स्पष्टिकरण दिनुपर्छ भन्ने हाम्रो दलको माग जायज नै रहेको छ,’ दुलालले भने ।

त्यसैगरी उनले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको भन्ने समाचारप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसबारे स्पष्ट जवाफ माग गरे । भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार रहेको भन्ने सूचना सार्वजनिक भएको उल्लेख गर्दै उनले घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग आग्रह गरे ।

‘हिजो भर्खरै एउटा समाचार आयो, भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको एउटा भूमिमा अवतरण गरेको र त्यहाँ भारतीय सुरक्षा निकायका कुनै प्रमुख व्यक्तित्व सवार भएको भन्ने सूचना आएको छ। यसबारे के हो, म सरकारको जवाफ चाहन्छु,’ उनले भने ।

सांसद दुलालले सीमा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा सरकार स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *