काठमाडौँ । सातै प्रदेश सरकारले आज (सोमबार) आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दै छन्। सम्बन्धित प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले आय–व्ययको वार्षिक विवरण प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रदेश सरकारले सुशासन, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तयार पारेका छन्। स्थानीय आवश्यकता र विकासका लक्ष्यलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रगत कार्यक्रम तथा योजनाका लागि बजेट विनियोजन गरिने अपेक्षा गरिएको छ।
संघीय सरकारले गत १५ जेठमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि त्यसकै आधारमा प्रदेशहरूले आफ्नो बजेट निर्माण प्रक्रिया अघि बढाएका थिए।
संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्ष असार १ गतेभित्र प्रदेश सरकारले वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। सोही व्यवस्था अनुरूप आज सातै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्न लागेका हुन्।
विभिन्न प्रदेश सभाहरूले तय गरेको कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ। त्यसैगरी, कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट ल्याउने तयारी गरेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे आ-आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएका छन्। सबैभन्दा ढिलो बजेट ल्याउने सूचीमा रहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ ५ बजे मात्र बजेट प्रस्तुत गर्ने गरी आन्तरिक तयारी पूरा गरेका छन्।






