काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीगो (DGO) ले दर्शकका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले विश्वकपका सबै १०४ खेल प्रत्यक्ष हेर्न मिल्ने ‘मोबाइल पास’ ५४९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ।
डीगोका अनुसार दर्शकले मोबाइलमार्फत नेपाली तथा अंग्रेजी कमेन्टरीसहित १०८०p फुल एचडी गुणस्तरमा विश्वकपका सबै खेल प्रत्यक्ष हेर्न सक्नेछन्। मोबाइल पास डीगो एपबाटै सहज रूपमा खरिद गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मोबाइल पास खरिद प्रक्रिया सरल बनाइएको छ। प्रयोगकर्ताले डीजीओ एप खोलेर केही चरण पूरा गरेपछि पास सक्रिय गर्न सक्नेछन्। नेपाली भाषामा कमेन्टरी उपलब्ध गराइनुका साथै दर्शकले आवश्यकताअनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्न सक्ने सुविधा पनि रहनेछ।
डीगोले विश्वकप प्रसारणलाई सहज, सुरक्षित र किफायती बनाउने लक्ष्यसहित यो योजना ल्याएको जनाएको छ। कम्पनीका प्रवक्ताले नेपाली दर्शकलाई गुणस्तरीय खेल अनुभव प्रदान गर्ने उद्देश्यले मोबाइल पास सार्वजनिक गरिएको बताए।
उनले अनधिकृत वेबसाइट, शंकास्पद एप तथा निःशुल्क स्ट्रिमिङको नाममा भइरहेका गतिविधिबाट सचेत रहन पनि आग्रह गरे। यस्ता माध्यम प्रयोग गर्दा व्यक्तिगत तथा बैंकिङ विवरण जोखिममा पर्न सक्ने भएकाले आधिकारिक प्लेटफर्ममार्फत मात्रै विश्वकप हेर्न कम्पनीले सुझाव दिएको छ।
डीगो नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल स्ट्रिमिङ साझेदार रहेको कम्पनीको दाबी छ। कम्पनीले दर्शकलाई सुरक्षित र भरपर्दो माध्यमबाट विश्वकपको रोमाञ्चक यात्रा अनुभव गर्न आग्रह गरेको छ।




