बेलायतसँगको समस्या समाधानमा परराष्ट्र मन्त्री खनाल, बेलायती रक्षा मन्त्रीसँग छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायती गोर्खा सैनिकसँग सम्बन्धित लामो समयदेखि समाधान हुन बाँकी विषयबारे बेलायती पक्षसँग छलफल गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले बेलायती रक्षामन्त्री जोन हिली तथा भूतपूर्व सैनिक एवं जनशक्ति मामिलामन्त्री लुइस स्यान्डर जोन्ससँग भर्चुअल बैठक गरी गोर्खा भर्ती, समानुपातिक पेन्सनलगायत विषयमा कुराकानी गरेका हुन्।

बैठकमा बेलायती गोर्खाहरूले उठाउँदै आएका विभिन्न गुनासा तथा मागका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा गोर्खा सैनिकको ऐतिहासिक योगदान उल्लेख गर्दै उनीहरूका समस्याको छिटो र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्नेमा जोड दिएका थिए।

उनले न्याय, निष्पक्षता र सम्मानका आधारमा गोर्खा सम्बन्धी विषय सम्बोधन गर्न बेलायती सरकारसँग आग्रह गरेका थिए।

जवाफमा बेलायती पक्षले गोर्खा भूतपूर्व सैनिकका मुद्दा समाधानका लागि नेपाली पक्षसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए।

बेलायती पक्षबाट सांसद एलेक्स बेकर, नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका प्रतिनिधि तथा रक्षा मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो। गोर्खा संगठनका प्रतिनिधिहरू पनि बैठकमा सहभागी भएका थिए।

यसअघि मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधिसँग छुट्टै भर्चुअल अन्तरक्रिया गरेका थिए।

बैठकको समन्वय लन्डनस्थित नेपाली दूतावासले गरेको मन्त्रालयले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *