काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन

काठमाडौं ।बर्डफ्लु फैलिन थालेपछि सरकारले प्रभावित क्षेत्रमा नियन्त्रण अभियान तीव्र बनाएको छ।

पशुसेवा विभागका अनुसार हालसम्म १० जिल्लाका ७२ वटा फार्ममा संक्रमण पुष्टि भएको छ भने करिब ५ लाख १५ हजार पन्छी नष्ट गरिएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका लागि परिचालित द्रुत कार्य टोलीले ७ लाख अण्डा र १८३ टन दाना पनि नष्ट गरेको छ।

लेयर्स तथा स्थानीय जातका कुखुरा बढी प्रभावित भएका छन्।

केही साताअघि झापा, मोरङ र सुनसरीबाट सुरु भएको संक्रमण महोत्तरी, बारा, चितवन हुँदै काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा नवलपरासीसम्म फैलिएको विभागले जनाएको छ।

‘बर्डफ्लुको उपचार छैन, संक्रमण देखिएपछि तत्काल नियन्त्रण गरेर फैलिन नदिनु नै मुख्य उपाय हो,’ दाहालले भने।

उनका अनुसार हाल काठमाडौं उपत्यका उच्च जोखिममा रहेको छ भने चितवनसहित अन्य केही जिल्लामा संक्रमण नियन्त्रणउन्मुख छ।

विभागले प्रभावित क्षेत्रका सबै पन्छीजन्य उत्पादन नष्ट गरिएपछि कम्तीमा दुई महिनासम्म व्यवसाय पुनः सञ्चालन गर्न नपाइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *