द रिट्ज–कार्लटनले नेपाललाई उच्चस्तरीय पर्यटन गन्तव्य बनाउन सक्ने : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्वप्रसिद्ध लक्जरी होटल ब्रान्ड ‘द रिट्ज–कार्लटन’को नेपाल प्रवेशले मुलुकको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्ने बताएका छन्।

सोमबार अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियट तथा चौधरी समूहका प्रतिनिधिसँग भएको भेटमा उनले द रिट्ज–कार्लटनको उपस्थितिले नेपाललाई विश्वका धनी पर्यटक र उच्चस्तरीय यात्रुहरूको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए।

चौधरी समूह र म्यारियट इन्टरनेसनलको साझेदारीमा काठमाडौंको ठमेलमा द रिट्ज–कार्लटन होटल सञ्चालन गर्ने घोषणा भएको भोलिपल्ट उक्त भेट भएको हो।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा अन्तर्राष्ट्रियस्तरको लगानी विस्तार गरेकोमा म्यारियट समूहलाई धन्यवाद दिँदै यस्तो परियोजनाले विदेशी लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गरेको बताए।

“तपाईंहरूको नयाँ परियोजनाले लगानीकर्तामा उत्साह थपेको छ। विश्वका धनाढ्य पर्यटकले पनि अब नेपाललाई आफ्नो गन्तव्यका रूपमा हेर्न सक्ने वातावरण बनेको छ,” उनले भने, “यसले नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउने विश्वास लिएको छु।”

उनले सरकारले लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्दै म्यारियट र द रिट्ज–कार्लटनलाई काठमाडौं बाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे।

लगानी सुरक्षा, पूर्वाधार विकास र कानुनी सहजीकरणमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। “व्यवसाय विस्तारका लागि आवश्यक हवाई तथा स्थलगत पूर्वाधार विकास सरकारको प्राथमिकतामा छ।तपाईंहरू नेपाललाई अन्तर्राष्ट्रिय बजारमा अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुहोस्,” उनले भने।

म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले नेपाल विश्वस्तरीय हिमाली तथा पदयात्रा गन्तव्य भएकाले द रिट्ज–कार्लटनको उपस्थितिले त्यसको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने बताए।

“नेपालमा द रिट्ज–कार्लटन घोषणा गर्न पाउँदा हामी उत्साहित छौं,” उनले भने, “नेपाल पर्यटनको अपार सम्भावना बोकेको देश हो र यहाँ थप लगानी विस्तार गर्ने हाम्रो प्रतिबद्धता छ।”

भेटमा सीजी हस्पिटालिटी होल्डिङ्स तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपालमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै लगानी प्रवर्द्धनका लागि सरकारी सहयोग आवश्यक रहने बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *