काठमाडौं । नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा.धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ ।
शुक्रबार बृहत राष्ट्रवादी एकता कायम गरी नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उदेश्यका साथ दुर्गा प्रसाईँको अध्यक्षतामा राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसार्इंले समसामयिक राष्ट्रिय विषय, आगामी सहकार्य तथा एकताबारे धारणा सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले नेपालका प्रमुख राजनीतिक दलहरू तथा तिनका नेताहरूमाथि तीव्र आलोचना गरे । उनले विगतमा आफूले पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई एक ठाउँमा ल्याएर दुई कम्युनिस्ट पार्टीबीच एकता गराएको स्मरण गर्दै त्यसबाट देशले राजनीतिक स्थिरता, सुख, शान्ति र समृद्धिको बाटो समात्ने अपेक्षा गरेको बताए । तर, ती आशा पूरा नभएको दाबी गर्दै उनले दुवै नेतामाथि स्वार्थ केन्द्रित राजनीति गरेको आरोप लगाए ।
उनले भने, ‘मैंले हिजोका दिनमा माओवादीको प्रचण्ड, एमालेका खड्क प्रसाद ओली अर्थात केपी ओलीलाई राखेर मिलाएको थिए । यही ठाउँमा राखेर दुई कम्युनिस्ट पार्टी एक भयो भने देशले निकास पाउँछ, नेपाली जनताले सुख, शान्ति र अमन चयनको श्वास फेर्छन् भन्ने ठूलो आशा गरेको थिए । तर भएन । दुईवटै दलाल निस्किए, दुईवटै व्यापारी निस्किए । देशमा कम्युनिस्ट नै रहेनछ । खाली कमाउने मात्र रहेछन् ।’
प्रसाईंले नेपाली कांग्रेसमाथि पनि कटाक्ष गर्दै उक्त पार्टी सामन्तवादी प्रवृत्तिको रहेको टिप्पणी गरे । साथै, वर्तमान राजनीतिक दलहरूबाट देशको विकास सम्भव नरहेको निष्कर्षमा आफू पुगेको बताए ।
उनले भने, ‘कांग्रेसको त कुरै छाडिदिऊँ उसको जातै हो । कांग्रेस पार्टी भनेको सामन्तेहरुको पार्टी हो, क्लब जस्तो हो । कहिले महिला घुमाउने, दारु खाने, तास खेल्ने भनेको कांग्रेसको रगतमै पर्छ । कांग्रेसलाई गाली गर्नु बेकार हो । तर त्यो त कम्युनिस्टमा सरेर पनि विग्रियो ।’
राजसंस्था पुनस्र्थापनाका लागि आफूले विभिन्न प्रयास गरेको उल्लेख गर्दै प्रसाईंले झापाको मेची किनारसम्म पूर्वराजालाई लैजाने क्रममा प्रमुख राजनीतिक दलहरूबाट अवरोध भएको आरोप लगाए ।
उनले राजेन्द्र लिङ्देनप्रति पनि असन्तुष्टि व्यक्त गर्दै राप्रपाले धर्म र राजसंस्थाको मुद्दा चुनावी लाभका लागि मात्र प्रयोग गरेको आरोप लगाए ।
उनले भने, ‘यीनिहरुबाट देश बन्दैन भनेर मैले महाराजधिराजलाई पाँच पटक प्रयास गरेर झापाको मेचिको किनारमा लिएर जाँदै गर्दाखेरि सबैभन्दा ठूलो धोका कांग्रेस, एमाले माओवादीले गर्नु त ठिकै हो । राप्रपाका राजेन्द्र लिङ्देनले समेत गर्नुभयो । राप्रपा भनेको समयआएपछि चुनावको बेला धर्म र राजा बेच्ने भोट लिने संसदमा पुग्ने त्यति काम भयो ।’
अर्को प्रसंगमा प्रसाईंले आफ्नो अभियानका क्रममा पटक–पटक आक्रमण, विरोध र कानुनी कारबाहीको सामना गर्नुपरेको बताए । उनले आफू १४ पटक जेल बसेको दाबी गर्दै विभिन्न शक्ति केन्द्रहरूले आफूलाई निशाना बनाएको आरोप लगाए । उनले पूर्व प्रधानमन्त्री केपी ओली, सुशीला कार्की तथा अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहको नाम उल्लेख गर्दै आफूविरुद्ध विभिन्न कदम चालिएको दाबी गरे ।
उनले भने, ‘अगाडि बढ्दै गर्दा हामीलाई पटक पटक प्रहार गरियो । धावा बोलियो, कालो मोसो दलियो । म १४ पटक त जेल बसे । केपी ओलीले मात्र होइन, सुशीला कार्की र अहिले आएर बालेनले पनि हाल्यो । सबैभन्दा ठूलो लक्ष्य के हो दुर्गा प्रसाईंलाई प्रकाउ नगरिकन केही हुँदैन । डर नै दुर्गा प्रसाईं हो,अरु होइन ।’
प्रसाईंले आफ्नो गिरफ्तारीलाई केही पक्षहरूको प्रमुख लक्ष्य बनाइएको आरोप लगाउँदै आफू अझै प्रभावशाली रहेको दाबीसमेत गरे ।







