मौद्रिक नीतिका तर्जुमाका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि राय तथा सुझाव माग गरेको छ।

केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रबार एक सूचना जारी गर्दै नीतिलाई व्यावहारिक र प्रभावकारी बनाउन सरोकारवाला विज्ञ, संघ संस्था र आम सर्वसाधारणसँग सुझाव मागेको हो।

राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले हरेक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नुअघि सार्वजनिक रूपमा सुझाव संकलन गर्नुपर्ने व्यवस्था छ।  प्राप्त  रचनात्मक सुझावहरूलाई नीति तर्जुमाका क्रममा आवश्यकताअनुसार समावेश गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको मौद्रिक नीति तर्जुमाले आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र सो वर्षको मौद्रिक नीति सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था गरेको छ। सोहीअनुसार राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आवश्यक प्रकृया सुरु गरेको हो।

आगामी मौद्रिक नीतिको मस्यौदा तयार गर्न विभागले इच्छुक व्यक्ति, संघ संस्था वा सरोकारवालाले आगामी २०८३ असार ५ गतेभित्र बालुवाटारस्थित राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा  वा इमेल ठेगाना monetarypolicy@nrb.org.np मार्फत पठाउन सकिने विभागले जनाएको छ ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ। सोहीअनुसार राष्ट्र बैंकले हरेक आर्थिक बर्षमा झैँ आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवालहरुको समेत सुझाव लिएर उत्कृष्ट नीति ल्याउने तयारी थालेको बताएको छ।

राष्ट्र बैंकका अनुसार साउनको पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *