रास्वपाको निलो क्रान्ति धेरै समय टिक्दैनः कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको निलो क्रान्तिको लहर धेरै समय नटिक्ने दाबी गरेका छन्।

देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ मात्रै अन्तिम र भरपर्दो विकल्प भएको उनले बताएका हुन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताए।

उनले उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको स्पष्ट पारे। पार्टीको झण्डा हरियो हुनु र चुनाव चिह्न ‘चिम’ ले शक्तिको सञ्चार गर्नुले पनि यो अवधारणालाई पुष्टि गर्ने उनको तर्क छ।

हरित क्रान्तिको व्याख्या गर्दै उनले सुशासनलाई यसको केन्द्रबिन्दु मानिएको बताए। सुशासनका अतिरिक्त जलस्रोतको अधिकतम उपयोग गरी जलविद्युत् उत्पादन, हरित हाइड्रोजन र हरित युरियाको उत्पादनलाई पार्टीले मुख्य प्राथमिकतामा राखेको उनले जानकारी दिए।

उनले भने, ‘उज्यालो नेपाल पार्टीको एउटा प्रमुख उद्देश्य नेपालमा हरित क्रान्ति गर्नु हो। हामी नेपालमा ‘ग्रिन रिभोल्युसन’ ल्याउने अभियानमा छौँ। विगतमा विभिन्न क्रान्तिका नाममा अनेकौँ राजनीतिक परिवर्तन भए। कसैले त्यसलाई श्वेत क्रान्ति भने, कसैले रातो क्रान्ति। यदि १० वर्षे जनयुद्धपछिको परिवर्तनलाई रातो क्रान्ति भनेर नामाकरण गर्ने हो भने, केही समयअघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अभियानलाई निलो क्रान्ति (ब्लु रिभोल्युसन) भनेर प्रस्तुत गर्‍यो। तर, निलो क्रान्ति धेरै समय टिक्दैन। अन्तिम र दिगो क्रान्ति भनेको हरित क्रान्ति अर्थात् ग्रिन रिभोल्युसन हो।’

उनले रास्वपाको सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताए। जनताले दुई तिहाइ मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरूले जनताको समस्या सम्बोधन गर्छन् भन्ने विश्वास गर्न नसकिने उनको भनाइ छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *