काठमाडौं । चौतर्फी विरोधपछि सरकारले स्थलमार्गको सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छुट सीमा बढाएको छ । सय रूपैयाँको सीमा बढाएर ५०० रुपैयाँ पुर्याएको हो ।
राजपत्रमा प्रकाशित नयाँ सूचनाअनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले ५०० रूपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन् ।
यसअघि सय रूपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था गरिएपछि उक्त निर्णयको चर्को विरोध भएको थियो ।
भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा उनीहरूले आफ्नो प्रयोगका लागि ल्याउने ट्याबलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा भन्सार महसुल तिर्नु नपर्ने व्यवस्था रहेको छ ।






