काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहले संसदीय मर्यादा र संसद् बैठकको नियमावली विपरीत दिएको ‘नेपालले पनि भारतको थुप्रै सीमा मिचेको छ’ भन्ने विवादित अभिव्यक्ति सच्चिनुपर्ने माग यथावत राख्न विपक्षी दलको बैठक सिंहदरबारमा बसिरहेको छ। विपक्षी दलको बैठकले सार्वभौम संसदको मर्यादाविपरीत प्रधानमन्त्री बालेन्द्रले दिएको अभिव्यक्ति नसच्चिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ।
आज सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीलाई संसदमै आएर विवादित अभिव्यक्ति सच्चाएर माफी माग्न माग गरेको छ। बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको सहभागिता थियो। प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति त्रुटिपूर्ण एवम् राष्ट्र घाती रहेको भन्दै विरोध जारी राख्ने निर्णय भएको राप्रापा नेपालकी सांसद खुस्बु ओलीले जानकारी दिईन्।
उनले भनिन् -‘सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीले आइतबार संसद्मा बोलेको कुरा राष्ट्रघाती हो भन्ने संयुक्त दलको बैठाको निष्कर्ष छ। यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने र प्रधानमन्त्रीले सदनबाटै देशबासीको नाममा माफी माग्नुपर्ने मागसहित प्रतिपक्षी दलहरूले आजको संसद् अवरोध गर्ने निर्णय भएको छ।’






