कुलमानले भने – रास्वपा सभापतिको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको अभिव्यक्ति सन्देहास्पद

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति सन्देहास्पद रहेको उनको टिप्पणी छ।

‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्रीको भनाइप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै घिसिङले नेपालले विगतदेखि नै उपलब्ध ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको बताएका छन्। यस्तो अवस्थामा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसदजस्तो सर्वोच्च मञ्चबाट दिएको अभिव्यक्तिले नेपालको राष्ट्रिय अडान कमजोर बनाउने उनको भनाइ छ।

घिसिङले प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा भ्रम सिर्जना गर्न सक्ने र नेपालले उठाउँदै आएको वैध दाबीलाई समेत प्रभावित पार्ने जोखिम रहेको उल्लेख गरेका छन्। रास्वपा सभापतिको भारत भ्रमणअघि सोही पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्रीबाट यस्तो भनाइ आउनुले विभिन्न प्रश्न र संशय जन्माएको उनको तर्क छ।

उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको आधार, सन्दर्भ र तथ्य देश र जनतासमक्ष स्पष्ट पार्नुपर्ने माग गरेका छन्। सीमा समस्या भावनात्मक धारणा वा अनुमानका आधारमा नभई ऐतिहासिक तथ्य, प्रमाण र विज्ञहरूको अध्ययनका आधारमा समाधान हुनुपर्नेमा उनले जोड दिएका छन्।

‘राष्ट्रिय हितका विषयमा अस्पष्टता होइन, दृढता र जिम्मेवारी अपेक्षित हुन्छ,’ घिसिङले भनेका छन्। उनका अनुसार सीमा सम्बन्धी विषय कुनै दल वा व्यक्तिको नभई सम्पूर्ण राष्ट्रको साझा चासो र संवेदनशील विषय भएकाले यसमा जिम्मेवार अभिव्यक्ति आवश्यक छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *