काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको भन्ने अभिव्यक्ति दिएपछि संसद्मा त्यसको चर्को विरोध भएको छ।
प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको विषय आफूले थाहा पाएको बताएका थिए। उनको उक्त भनाइपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको हो।
कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीले अत्यन्त संवेदनशील र आपत्तिजनक विषय उठाएको बताइन्। उनले संसद्मा बोल्दै प्रधानमन्त्रीको दाबीको आधार र प्रमाण सार्वजनिक गर्न माग गरिन्।
उनले भनिन्, “भारतको भूमि नेपालले मिचेको भन्नुभयो। कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्यो। होइन भने, दुई देशको सीमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ? यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्।”
कांग्रेसले प्रधानमन्त्रीको भनाइले नेपाल–भारत सम्बन्धजस्तो संवेदनशील विषयमा अनावश्यक भ्रम सिर्जना गर्न सक्ने भन्दै स्पष्टिकरणको माग गरेको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि संसद्मा सीमा सम्बन्धी विषयलाई लिएर थप बहस सुरु भएको छ।






