काठमाडौं । अनर मोबाइलको आधिकारिक विक्रेता सेल्ट्रोन नेपाल प्राइभेट लिमिटेडले नेपाली बजारमा ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ बजारमा ल्याएको हो ।
‘सिर्जना गर्नुहोस्, कैद गर्नुहोस्, र मोमेन्ट्सलाई मोसनमा परिवर्तन गर्नुहोस्’ भन्ने मूल मन्त्रका साथ सार्वजनिक गरिएको यो सिरिजले उन्नत एआई फिचर, प्रिमियम डिजाइन र उच्च प्रदर्शनको माध्यमबाट प्रयोगकर्ताको दैनिक अनुभवलाई असाधारण बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
आकर्षक डिजाइन र स्मार्ट इनोभेसनको उत्कृष्ट संयोजन रहेको यो सिरिज आधुनिक जीवनशैली र सिर्जनशील प्रयोगकर्ताहरूका लागि तयार पारिएको हो । यस सिरिज अन्तर्गतको अनर ६०० मा ४ न्यानोमिटर प्रविधिमा आधारित स्नापडार्गन ७ जेन ४ प्रोसेसर प्रयोग गरिएको छ, जसले गेमिङ र मल्टिटास्किङमा छिटो र प्रभावकारी प्रदर्शन सुनिश्चित गर्दछ ।
यसमा रहेको ‘ एआई इमेज टु भिडियो २.०’ फिचरले ५ सेकेन्डको एआई-जेनेरेटेड भिडियो स्टोरी बनाउने सुविधा दिँदै कन्टेन्ट क्रिएसनलाई अझ अन्तरक्रियात्मक बनाएको छ । फोटोग्राफीका लागि यसमा ‘मुभिङ फोटो इरेजर टुल’ र कम उज्यालोमा पनि स्पष्ट तस्बिर खिच्न ‘अल्ट्रा-क्लियर नाइट मोड’ जस्ता विशेष फिचरहरू छन् ।
७००० एमएएचको विशाल ब्याट्री रहेको यस फोनमा ८० वाटको वायर्ड फास्ट चार्जिङ र २७ वाटको रिभर्स वायर्ड चार्जिङ सपोर्ट उपलब्ध छ । यसको ८जीबी+२५६ जीबी भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ र १२ जीवी+२५६ जीवी भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । जसको खरिदमा ग्राहकले १५ हजार ९९९ रुपैयाँको ‘अनर चोइस वाच २ प्रो’ र ‘इएफआईएक्स प्रोटेक्सन सर्भिस’ निःशुल्क प्राप्त गर्नेछन् ।
त्यस्तै, अझ शक्तिशाली अनुभवका लागि ल्याइएको अनर ६०० प्रोमा ३ न्यानोमिटर प्रविधिको स्न्यापडार्गन ८ इलाइट प्रोसेसर समावेश छ, जसले अल्ट्रा-फास्ट रेस्पोन्सिभनेस र शक्तिशाली एआई क्षमता प्रदान गर्दछ । यसको ‘एआई इमेज टु भिडियो २.०’ फिचरले तस्वीर र ‘टेक्स प्रोम्प्टस’ को प्रयोग गरी सिनेमाई एआई स्टोरीहरू बनाउन सक्षम बनाउँछ ।
फोटोग्राफी प्रेमीहरूका लागि यसमा ओआईएस सहितको २०० एमपी मुख्य क्यामेरा, ३.५ एक्स अप्टिकल जुमसहितको ५० एमपी टेलिफोटो लेन्स र १२ एमपीको अल्ट्रावाइड क्यामेरासहितको फ्ल्यागशिप सेटअप रहेको छ । ७००० एमएएच ब्याट्रीका साथ यसमा ८० वाट वायर्ड, ५० वाट वायरलेस र २७ वाटको रिभर्स वायर्ड चार्जिङको सुविधा छ ।
१२ जीवी+२५६ जीवी भेरियन्टमा उपलब्ध यस फोनको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसको खरिदमा ग्राहकले १५ हजार ९९९ रुपैयाँको ‘अनर चोइस वाच २ प्रो’, १० हजार ९९९ रुपैयाँको ‘अनर चोइस क्लिप एयरबड्स’ र ‘इफिक्स प्रोटेक्सन सर्भिस’ उपहार पाउनेछन् ।
लन्चको अवसरमा विशेष अफरहरूका साथ यो सिरिज देशभरका आधिकारिक अनर रिटेल स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।






