काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत खर्च बढाउने सरकारको पहल सकारात्मक रहेको बताएका छन्। उनले यसले निजी क्षेत्र चलायमान भई अर्थतन्त्रमा गति आउने विश्वास व्यक्त गरे।
नेपाल जग्गा तथा आवास विकास सङ्घको १९औँ वार्षिक साधारणसभामा बोल्दै उनले आगामी बजेटमा पुँजीगत खर्च केही मात्रामा भए पनि वृद्धि हुनु अर्थतन्त्रका लागि सकारात्मक संकेत भएको बताए। अध्यक्ष श्रेष्ठका अनुसार बजेटले पूर्वाधार क्षेत्रमा खर्च बढाउनु, आयकर घटाउनु र प्रविधिमा जोड दिनु सकारात्मक पक्ष हुन्। साथै, विदेशी नागरिकलाई लिजमा घर किन्न पाउने व्यवस्था र व्यवस्थित सहर निर्माणको अवधारणा निजी क्षेत्रका लागि उत्साहजनक भएको उनले बताए। उनले रोजगारीका लागि विदेश जानुपर्ने अवस्था र उपभोग्य वस्तुको ठूलो हिस्सा आयातमा निर्भर हुनु चिन्ताजनक भएको उल्लेख गर्दै त्यसलाई घटाउनुपर्नेमा जोड दिए।
घरजग्गा व्यवसायका समस्या समाधान गर्न महासङ्घ सकारात्मक रूपमा अघि बढिरहेको पनि उनले बताए। विशेषगरी जग्गा हदबन्दीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए। त्यस्तै, नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बजेटले एकीकृत सहरी पूर्वाधारको अवधारणा अघि सारेको भन्दै सकारात्मक प्रतिक्रिया दिए।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्र समग्रमा सकारात्मक देखिए पनि लगानीमैत्री वातावरण अभावले समस्या रहेको बताए। घरजग्गा क्षेत्र चलायमान नभएसम्म अर्थतन्त्रले गति नलिने उनको भनाइ थियो।
नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले लामो समयको अन्योलपछि निजी क्षेत्र सरकारप्रति आशावादी बनेको उल्लेख गर्दै पूर्वाधार क्षेत्रमा ठूलो बजेट विनियोजन हुनु सकारात्मक भएको बताए।
नेपाल जग्गा तथा आवास विकास महासङ्घका संस्थापक अध्यक्ष मीनमान श्रेष्ठले विदेशी नागरिकलाई अपार्टमेन्ट लिजमा किन्न पाउने निर्णय अर्थतन्त्र चलायमान बनाउन सहयोगी हुने बताए।
त्यसैगरी, संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले जग्गा हदबन्दीसम्बन्धी नीतिका कारण घरजग्गा व्यवसाय संकटमा परेको भन्दै यसको समाधान तत्काल आवश्यक रहेको बताए।
समग्रमा निजी क्षेत्रले बजेटलाई मिश्रित तर अपेक्षाकृत सकारात्मक रूपमा लिएको छ, तर दीर्घकालीन सुधार र नीतिगत स्पष्टताको आवश्यकता अझै रहेको उनीहरूको धारणा छ।






