बजेट भाषणको बीचमै बाहिरिए हर्क, भन्छन्- ‘प्रधानमन्त्रीले नै सुनून् बजेट भाषण’

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठकबाट बाहिरिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा बजेट भाषण जारी रहेकै बेला साम्पाङले बीचमै बैठक कक्ष छाडेका हुन्।

बैठकबाट बाहिरिएलगत्तै साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै प्रधानमन्त्रीलाई जवाफदेही बनाउन आफूले दबाब दिएको र सोही दबाबका कारण प्रधानमन्त्री संसद्‌मा उपस्थित भएको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘प्रधानमन्त्री आए ! जवाफदेही बनाउने मेरो दबाब हो ! त्यसैले उनैले सुनून् उनका बजेट भाषण भनेर हिँडें म चाहिँ !’

साम्पाङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा प्रधानमन्त्री उपस्थित नभएको तर अहिले बजेट भाषणमा उपस्थित भएको भन्दै व्यङ्ग्य समेत गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘नीति तथा कार्यक्रम नसुनेको प्रमले बजेट सुने !’

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री संसद्‌मा अनुपस्थित भएको भन्दै सदन अवरुद्ध गर्दै आएका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *