राजदूत पदमा आवेदन खुल्यो, उम्मेदवारको बायोडाटा हेरेपछि सर्टलिस्टमा परेकालाई बोलाइने

काठमाडौं। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकमा रिक्त रहेको नेपालको राजदूत पदका लागि आवेदन तथा सिफारिस आह्वान गरेको छ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त मागेको हो।

मन्त्रालयका अनुसार नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रको प्रभावकारी सञ्चालन र प्रवर्द्धनका लागि राजदूत नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

इच्छुक उम्मेदवारले स्वयं आवेदन दिन सक्नेछन् भने अन्य व्यक्ति वा निकायले पनि योग्य व्यक्तिको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार आवश्यक योग्यता पुगेका व्यक्तिले मन्त्रालयको वेबसाइटमा उपलब्ध कार्यशर्तअनुसार आवेदन दिन सक्नेछन्।

आवेदनका क्रममा विस्तृत व्यक्तिगत विवरणसहित आवश्यक कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले आवेदन तथा सिफारिस इमेलमार्फत समेत बुझाउन सकिने जनाएको छ।

मन्त्रालयले जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन सकिने जनाएको छ।

तोकिएको म्याद नाघेका वा आवश्यक प्रक्रिया नपुर्‍याइएका आवेदनलाई छनोट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख छ।

प्राप्त आवेदन र सिफारिसका आधारमा मन्त्रालयले प्रारम्भिक सूची तयार गरी योग्यता तथा उपयुक्तताका आधारमा उम्मेदवारको छोटो सूची बनाउने जनाएको छ।

छोटो सूचीमा परेका उम्मेदवारलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने मन्त्रालयले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *