हिमालयन बैंकमा संस्थापकको पकड कमजोर बन्दै, १० प्रतिशत शेयर सर्वसाधारणमा लगिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थापक समूहको स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार हिमालयन बैंकले १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न लागेको जनाएको छ।

यसका लागि बैंकले संस्थापक समूहका इच्छुक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ। आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्न चाहने शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार कम्पनीको हकमा सञ्चालक समितिको निर्णयसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। आवेदन बैंकको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेडमार्फत पेश गर्न सकिनेछ। आवेदन फारम हिमालयन क्यापिटल र हिमालयन बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ।

बैंकको यस निर्णयले संस्थाभित्र संस्थापक शेयरधनीको पकड भने कमजोर हुने देखिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *