पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका ले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि ‘पर्यटन गुरु योजना’ लागू गरेर अघि बढेको जनाएको छ।

नगर प्रमुख अमरबहादुर खड्का ले पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन भइरहेको बताए।

उनका अनुसार विरेखोला झरना, कालाजग्रा, पोरखेगढी, जाल्पादेवी, दुनालेख र दहडाँडालगायत क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पदमार्ग निर्माण, भौतिक पूर्वाधार विस्तार तथा सडक सञ्जाल सुधारका काम भइरहेको छ।

नगरपालिकाले हरेक नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन प्रचारप्रसारलाई समेत जोड दिएको नगर प्रमुख खड्काले बताए।

उनले जिल्लाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले साझा योजना र समन्वयका साथ अघि बढ्नुपर्ने धारणा राखे।

सीमित स्रोतसाधनका कारण स्थानीय सरकार एक्लैले अपेक्षित काम गर्न कठिन हुने भएकाले माथिल्ला तहको सहयोग आवश्यक रहेको उनको भनाइ छ।

नगरपालिकाले धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको बडीमालिका क्षेत्रको प्रवर्द्धनका लागि ‘बडीमालिका तीर्थयात्रा’ कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।

नगर प्रमुख खड्काले उक्त तीर्थयात्राले बडीमालिका क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *