काठमाडौँ। नेपाल सरकारले स्विजरल्याण्ड र चीन सरकारबाट प्राप्त हुने वैदेशिक अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास र स्थानीय तहको राजस्व अभिवृद्धिका लागि प्राप्त हुने दुई ठूला अनुदान प्रस्तावलाई पारित गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अर्थ मन्त्रालयको सिफारिसमा यी अनुदानहरू स्वीकार गर्ने निर्णय भएको हो।
स्विजरल्याण्ड सरकारले ‘नगरपालिका राजस्व अभिवृद्धि परियोजना’ का लागि ६.११६ मिलियन स्विस फ्र्याङ्क अनुदान उपलब्ध गराउने भएको छ।
यसैगरी, उत्तरी छिमेकी मुलुक चीनले अरनिको राजमार्गको मर्मत तथा सुधारका लागि ७९.३६ मिलियन आरएमबी (चिनियाँ मुद्रा) अनुदान सहयोग गर्ने भएको छ।
‘चीन सरकारबाट प्राप्त हुने यो अनुदानले रणनीतिक महत्वको अरनिको राजमार्गको अवस्था सुधार गर्न ठूलो सहयोग पुग्ने’ प्रवक्ता पोखरेलले जानकारी दिए।






